• Menu

संवैधानिक निकायका पदाधिकारीको सुविधादेखि राहदानी ऐनसम्म, ९ विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १७:२७

संवैधानिक निकायका पदाधिकारीको सुविधादेखि राहदानी ऐनसम्म, ९ विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदमा ९ वटा विधेयक पेश गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न कानुन संशोधन तथा नीतिगत निर्णयहरू भएको जानकारी दिए ।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी ऐन-२०५३ संशोधन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनको संशोधन तथा एकीकरण, संक्रामक पशुरोग नियन्त्रण, राहदानी ऐन-२०७६ संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन), बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलापसम्बन्धी ऐन-२०६८ संशोधन तथा कर्मचारी ऐन-२०१९ संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को छैटौँ संशोधन नियमावली-२०८३ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार