
काठमाडौं । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको कार्यशैलीको आलोचना गर्दै समस्याको समाधान खोज्न सरकार असफल भएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाएर सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न आग्रह गरेका छन् ।
संयोजक प्रचण्डले विगतमा भूकम्प, बाढीपहिरो तथा जटिल राजनीतिक परिस्थितिमा दलहरूबीच साझा सहमति कायम भएको स्मरण गराउँदै अहिले पनि राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए । उनले राष्ट्रिय महत्वका संवेदनशील विषयमा सरकार गम्भीर भएर प्रभावकारी समाधान खोज्नुपर्नेमा जोड दिए ।
रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal