• Menu

चिकित्सकको आन्दोलनले पोखराका अस्पतालमा ओपिडी सेवा बन्द

नेपाल प्रफिट

२०८३ साउन १२, १४:५६

चिकित्सकको आन्दोलनले पोखराका अस्पतालमा ओपिडी सेवा बन्द

पर्सा। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको देशव्यापी आन्दोलनका कारण पोखराका विभिन्न अस्पतालमा उपचार सेवा प्रभावित भएको छ।

नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा. सुनिल पनेरुका अनुसार आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फेवा सिटी अस्पताललगायतका स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा बन्द हुँदा सयौँ बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्।

यद्यपि आकस्मिक, भर्ना तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको डा. पनेरुले जानकारी दिए ।

उनका अनुसार आन्दोलन नेपाल चिकित्सक संघको केन्द्रीय निर्णयअनुसार सञ्चालन भएकाले आन्दोलन जारी रहने वा फिर्ता हुने विषयमा केन्द्रबाट हुने निर्णयपछि मात्रै थप जानकारी आउनेछ। हालसम्म आन्दोलन यथावत् रहेको उनले बताए ।