• Menu

एआई डेटिङ एपबाट भेटिएका २६५ जोडी विवाह बन्धनमा

नेपाल प्रफिट

२०८३ साउन १२, ११:२३

एआई डेटिङ एपबाट भेटिएका २६५ जोडी विवाह बन्धनमा

एजेन्सी । जापानमा घट्दो जन्मदर बढाउने उद्देश्यले टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) आधारित डेटिङ एपले उत्साहजनक नतिजा दिएको छ। सन् २०२४ मा सुरु गरिएको ‘टोकियो एनमुसुबी’ एपमार्फत हालसम्म २६५ जोडी विवाह बन्धनमा बाँधिएका छन् ।

सरकारी सर्वेक्षणले विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय नरहेको देखिएपछि उनीहरूलाई उपयुक्त जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको थियो।

एपमा सहभागी हुन कानुनी रूपमा अविवाहित भएको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ। यसले विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिलाई मात्र सहभागी गराउने सरकारको विश्वास छ।

यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदन परेकोमा १६ हजार जना सदस्य दर्ता भएका छन्। तीमध्ये ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा रहेका छन् भने २६५ जोडीले विवाह गरिसकेका छन् ।

एप प्रयोगकर्तामध्ये ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले ४०औँ जन्मदिनअघि अन्तिम अवसर ठानेर एप प्रयोग गर्दा आफ्ना वर्तमान पतिसँग भेट भएको अनुभव साझा गरेकी छन् । अर्का प्रयोगकर्ता ‘स्काइट्री’ले एआईले सम्भावित जीवनसाथीसँगको अनुकूलता मूल्याङ्कन गरेर उपयुक्त निर्णय लिन सहज बनाएको बताएका छन् ।

यसैबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या घटेर ६ लाख ७१ हजार २३६ मा पुगेको छ। यो लगातार दशौँ वर्षको वार्षिक गिरावट हो। सोही अवधिमा मृत्यु सङ्ख्या १६ लाख नाघेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ। यद्यपि विवाहको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा केही बढेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार