• Menu

माडीको सडक निर्माण पूरा हुन्छ, अब विकासमा जुटौँ : कानुनमन्त्री

नेपाल प्रफिट

२०८३ साउन ११, १७:१८

माडीको सडक निर्माण पूरा हुन्छ, अब विकासमा जुटौँ : कानुनमन्त्री

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनपछि राजनीतिक प्रतिस्पर्धा समाप्त हुने भएकाले अब सबै पक्ष विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताएकी छन्।

माडीमा आयोजित शिव पुराण ज्ञान महायज्ञलाई सम्बोधन गर्दै मन्त्री गौतमले चुनावका बेला राजनीति भए पनि त्यसपछि मत दिने र नदिने सबै नागरिक समान भएकाले विकासका लागि एकजुट हुनुपर्ने धारणा राखिन् ।

उनले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै रुख गणनापछि सार्वजनिक सुनुवाइ सम्पन्न गरेर सडक निर्माण कार्य अगाडि बढाइने बताइन् । जंगलको सडक निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्दै उनले लामो समयसम्म स्थानीयले सडककै माग गर्नुपर्ने अवस्था दुःखद भएको उल्लेख गरिन् ।

मन्त्री गौतमले आगामी पाँच वर्षभित्र निकुञ्जभित्रको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका महत्वपूर्ण विकास आयोजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले निर्वाचन सकिएकाले अब विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताइन्। समाजमा आलोचना-टिप्पणी स्वाभाविक भए पनि सकारात्मक कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

उनले माडीवासीलाई व्यक्तिगत स्वार्थभन्दा जनताका साझा समस्या लिएर आए समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।