• Menu

कप्तानगन्ज झडपपछि सुनसरी प्रशासनमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आह्वान

नेपाल प्रफिट

२०८३ साउन ११, १७:२१

कप्तानगन्ज झडपपछि सुनसरी प्रशासनमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आह्वान

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवालाले आ-आफ्नो तहबाट प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।

घटनापछि स्थानीय प्रशासनले देवानगन्ज, घुस्की, कप्तानगन्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा थप अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको छ भने त्यहाँको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।

कप्तानगञ्जमा गएराति दुई समूहबीच भएको झडपमा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो।

सर्वदलीय बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।