• Menu

शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय सिकाइ आवश्यक छ : शिक्षामन्त्री

नेपाल प्रफिट

२०८३ साउन ११, १७:०५

शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय सिकाइ आवश्यक छ : शिक्षामन्त्री

धनुषा ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण-सिकाइलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलमा मन्त्री पोखरेलले समयको मागअनुसार क्याम्पसहरूले शिक्षाको गुणस्तर सुधार गर्दै व्यवस्थापनलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए ।

पुरानो क्याम्पस भएकाले विभिन्न समस्या हुनु स्वाभाविक भए पनि पठनपाठनलाई समयसापेक्ष बनाउन, परीक्षाका क्रममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न तथा शैक्षिक वातावरण सुधार्न उनले निर्देशन दिए ।

क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागि आवश्यक विवरण तत्काल मन्त्रालयमा पठाउन आग्रह गर्दै उनले मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, बिलिङ प्रणालीलाई अनलाइनमार्फत सञ्चालन गर्न, सरसफाइ व्यवस्थापन सुधार गर्न र पुस्तकालयमा देखिएका समस्या शीघ्र समाधान गर्न पनि निर्देशन दिए ।

क्याम्पस प्रमुख प्रा. डा. वसन्तकुमार कर्णले क्याम्पसको वर्तमान अवस्था, सुधारका प्रयास तथा आगामी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूसँग पनि अन्तरक्रिया गरेका थिए। विद्यार्थीहरूले खानेपानी, शौचालय, सरसफाइ र पुस्तकालयको कमजोर अवस्थाबारे गुनासो गर्दै ती समस्या समाधान गर्न माग गरेका थिए ।

यसअघि मन्त्री पोखरेलले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्री वितरण गरेका थिए ।