
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर, ट्रिपरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो खस्नेबित्तिकै सडक खुलाउन मुग्लिन, सेती दोभान र तुईन खोलामा आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो ।
मुग्लिनमा एउटा लोडर, सेती दोभानमा लोडर, एक्साभेटर, ब्याकहो लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ। हालै ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडर व्यवस्थापन गरेको छ। ठूलो पहिरो खसेमा हेटौँडा र पोखराबाट समेत भारी उपकरण झिकाइने जनाइएको छ ।
इन्जिनियर घिमिरेका अनुसार वर्षायाम सुरु भएयता सडकखण्डमा दैनिकजसो साना-ठूला पहिरो खस्ने क्रम जारी रहेकाले सडक अवरुद्ध हुनासाथ तत्काल पन्छाएर यातायात सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा हाल ४३ स्थान पहिरोको जोखिममा रहेका छन्। तीमध्ये सात स्थान उच्च जोखिमयुक्त र बाँकी मध्यम जोखिमका क्षेत्र हुन्।
राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको यस सडकखण्डबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले वर्षायाममा पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal