
एजेन्सी । अमेरिका र इरानबीचको सैन्य तनाव कम हुँदै युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे सकारात्मक संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
अमेरिकाले इरानमाथिको सैन्य कारबाही रोकेपछि र दुवै पक्ष वार्तातर्फ उन्मुख भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार एक समय सात प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ ।
इरानले पनि प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेसँगै खाडी क्षेत्रको जलमार्ग र तेल आपूर्तिमा देखिएको जोखिम कम भएको छ। ‘स्ट्रेट अफ हर्मुज’ हुँदै सुरक्षित रूपमा जहाज सञ्चालन गराउने विषयमा इरान र ओमानबीच प्रगति भएको जनाइएको छ ।
तेलको मूल्य घटेसँगै विश्वव्यापी मुद्रास्फीति र ब्याजदर थप बढ्ने चिन्ता पनि केही कम भएको छ । यसको सकारात्मक प्रभाव अधिकांश एसियाली सेयर बजारमा देखिए पनि दक्षिण कोरिया, ताइवान र सिङ्गापुरका बजारमा भने प्रविधि कम्पनीहरूको बिक्री दबाबका कारण गिरावट आएको छ ।
यसैबीच, चीनको पहलमा पाकिस्तानले अमेरिका-इरानबीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बजारको ध्यान अब अमेरिकी फेडरल रिजर्भको आगामी मौद्रिक नीतिगत निर्णय तथा माइक्रोसफ्ट, मेटा, एप्पल र अमेजनजस्ता प्रमुख प्रविधि कम्पनीहरूको आम्दानी प्रतिवेदनमा केन्द्रित भएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal