• Menu

काठमाडौं सुनचाँदी व्यवसायी संघद्वारा सदस्य भेला आयोजना, व्यावसायिक विषयमा छलफल

नेपाल प्रफिट

२०८३ साउन ९, शनिबार २१:११

काठमाडौं सुनचाँदी व्यवसायी संघद्वारा सदस्य भेला आयोजना, व्यावसायिक विषयमा छलफल

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सदस्य भेला आयोजना गरेको छ । संघले सदस्य व्यवसायीबीच समसामयिक व्यावसायिक विषयमा छलफल तथा सुझाव संकलन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा पहिलो क्षेत्रगत सदस्य भेला आयोजना गरेको हो ।

भेलामा सुनचाँदी व्यवसायमा देखिएका समस्या तथा समाधानका उपाय, महासंघको १३औँ र १५औँ वार्षिक साधारणसभामा सुनचाँदी व्यवसायसँग सम्बन्धित राख्नुपर्ने सुझावलगायत विविध विषयमा छलफल भएको छ ।

कार्यक्रममा अध्यक्ष रोहिनादेवी शाक्यले व्यवसायीको हित प्रवर्धनका लागि संघले हदैसम्म पहल गरिरहेको बताइन् । उनले व्यवसायीहरुलाई संघले सदस्यहरुको हितका लागि अर्थ मन्त्रालय, वाणिज्य विभाग, आन्तरिक राजस्व विभागलगायतका निकायमा आवश्यक छलफल गरेको पनि जानकारी दिइन् ।

त्यस्तै सचिव लेखरत्न शाक्यले व्यवसायीलाई कारोबारको हिसाबकिताब राख्ने प्रक्रिया, लेखापरीक्षण, स्टक व्यवस्थापन, पुराना गरगहना खरिद गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषयमा कुनै जानकारी आवश्यक परे संघलाई जानकारी गराउन आग्रह गरे । ‘व्यवसायीको हितका लागि संघ सबै खालका सहजीकरण गर्न तयार छ,’ उनले भने ।

भेलामा स्टक व्यवस्थापन, पुराना गरगहना खरिद गर्दा ग्राहकको नागरिकता लिनुपर्ने व्यवस्था, १० लाख रुपैयाँभन्दा बढीको कारोबार, सम्बन्धित सरकारी निकायमा दर्ता प्रमाणपत्र अद्यावधिक, लेखापरीक्षण, कर तथा आवश्यक कागजात व्यवस्थापनलगायत विषयमा चार्टर्ड एकाउन्टेन्ट महेश पोखरेलले व्यवसायीलाई जानकारी गराएका छन् ।

भेलामा वसन्तपुर, विशालबजार, न्युरोड, इन्द्रचोक, गुच्चाटोल, प्युखा र वटु क्षेत्रका एक सयभन्दा बढी सदस्य व्यवसायी सहभागी थिए । संघले क्षेत्रअनुसार विभाजन गरी समय-समयमा सदस्य भेला तथा अन्तर्क्रिया कार्यक्रम गर्दै जाने जनाएको छ ।

तस्बिर : दिनेश बज्राचार्य