• Menu

झापाको भद्रपुर कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, नयाँ भवन निर्माणका लागि डीपीआर बनाइँदै

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १७:४८

झापाको भद्रपुर कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, नयाँ भवन निर्माणका लागि डीपीआर बनाइँदै

काठमाडौं । झापाको भद्रपुरस्थित जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि नयाँ कारागार भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ। नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम सुरु गरिएको कारागार प्रशासनले जनाएको छ।

भद्रपुर कारागारको क्षमता ७५० जनाको भए पनि हाल १ हजार ५८५ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार कारागारमा ९९९ जना कैदी र ५८६ जना थुनुवा छन्, जसमा ७८ जना महिला रहेका छन्।

कारागारमा विदेशी नागरिकको संख्या पनि उल्लेखनीय छ। हाल भारतका ११८ र भुटानका २९ गरी १४७ विदेशी नागरिक कारागारमा रहेको प्रशासनले जनाएको छ।

अत्यधिक चापका कारण दैनिक व्यवस्थापन, सरसफाइ र ढल निकासमा समस्या बढेको कारागार प्रशासनले जनाएको छ। कारागारबाट निस्कने फोहोर तथा ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको भन्दै स्थानीयले कारागारलाई सहरबाहिर स्थानान्तरण गर्न माग गर्दै आएका छन्।

प्रमुख भट्टराईका अनुसार भद्रपुर-१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक रहेको १० बिघा सरकारी जग्गामा नयाँ कारागार भवन निर्माण गर्ने योजना बनाइएको छ। त्यसका लागि जग्गा नापजाँच गर्न नापी कार्यालय झापासँग समन्वय सुरु गरिएको छ।

उनले नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढिसकेको र डीपीआर तयार भएपछि निर्माण कार्यलाई तीव्रता दिइने बताए।

सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणको पहिलो चरणका लागि १ करोड ७५ लाख रुपैयाँ बजेट समेत विनियोजन भइसकेको छ।