
काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन ।
बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो । यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती व्यहोर्नुपर्यो ।
यसप्रकारका समस्या बर्सेनि दोहोरिने गरेको भए पनि दीर्घकालीन समाधान हुनसकेको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईले माइतीघर क्षेत्र ओरालोमा पर्ने भएकाले बगेर आएको पानी सोही क्षेत्रमा जम्मा हुने गरेको जानकारी दिए ।
उनले भने, ‘माइतीघर क्षेत्रको ढल टुकुचा खोलातर्फ निकास हुने भए पनि वर्षाको समयमा टुकुचामा पानीको सतह बढेपछि ढलको पानी सहज रूपमा बग्न पाउँदैन । त्यसले सडकमा पानी जम्ने गरेको बताए । ‘मुख्य समस्या ढल निकास प्रणालीमै छ । पुराना पाइप साना छन्,’ प्रवक्ता राईले भने ।
उक्त क्षेत्रमा रहेका अधिकांश ढलका पाइप पुराना, साँघुरा र तिनको क्षमता वर्षामा परेको पानीको बहाव धान्न पर्याप्त छैन । माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार सम्बन्धमा छलफल भए पनि विस्तृत योजना कार्यान्वयन हुनसकेको छैन ।
तीव्र सहरीकरण, वर्षाको पानी छुट्टै निकास गर्ने प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी-खोलाको प्राकृतिक बहाव साँघुरिँदै जानु राजधानीमा डुबानको समस्या बढ्नुका प्रमुख कारण हुन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal