• Menu

राप्ती नदीमा पुल नहुँदा ज्यान जोखिममा राखेर डुंगाकै भर : हिउँद होस् या वर्षा, यात्रा सधैँ कष्टकर

नेपाल प्रफिट

२०८३ असार २९, १३:५७

राप्ती नदीमा पुल नहुँदा ज्यान जोखिममा राखेर डुंगाकै भर : हिउँद होस् या वर्षा, यात्रा सधैँ कष्टकर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

नरैनापुर गाउँपालिका-६ गंगपुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गङ्गापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको यादवले बताए ।

उनका अनुसार, राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुंगा चढेर नदी वारपार गर्ने गर्दछन् । राप्तीसोनारी गाउँपालिका-७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुंगा प्रयोग गर्दै आएका छन् ।

राप्ती सोनारी-७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुंगा चढ्नु बाध्यता भएको बताए । नदी तटीय क्षेत्रका नागरिकको खेती किसानी समेत राप्ती नदी वारि र पारि हुने भएकाले यतिबेला धानको बीउ राप्ने कामको लागि पनि डुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको यादवले जानकारी दिए ।

‘नदी तर्न पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ । यता झोलुंगे पुल पनि छैन, त्यसैले डुंगा चढ्नुको विकल्प छैन,’ उनले भने, ‘हिउँद होस् वा वर्षात्, हामी डुंगाबाटै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।’

डुडुवा गाउँपालिका-१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुंगामार्फत राप्ती नदी वारपार गर्नु दैनिकी बनेको होलियाका स्थानीय अगुवा झगरु लोनियाले बताए ।

हिउँदको समयमा नदीका कम पानी हुने भएकाले डुंगामा सहज यात्रा हुने भए पनि बर्सातमा राप्ती नदीमा बाढी आउने भएकाले नदी वारपार गर्न डुंगामा जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ ।

नदी वारपारको लागि खल्ला झगडिया गाउँ नजिकै डुंगा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ । डुंगाचालक नानबाबु पासीका अनुसार, नदी तारेबापत प्रतिव्यक्ति १० शुल्क लिने गरिएको छ । गाईभैँसीका लागि २०, साइकलका लागि १५ र मोटरसाइकलका लागि ६० शुल्क लाग्छ । एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले बताए ।

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन् । डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको गंगपुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुंगा तरेर हाटबजार जाने गरेका छन् ।

भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुंगाचालक पासीले बताए ।

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन् ।

बाँके क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणको योजना कार्यान्वयनको लागि आफूले पहल गरिरहेको बताए ।