• Menu

बझाङ जीप दुर्घटनाका घाइतेहरूको नेपाली सेनाद्वारा हवाई उद्धार, उपचारका लागि नेपालगन्ज र काठमाडौं पठाइयो

नेपाल प्रफिट

२०८३ असार २८, १७:२७

बझाङ जीप दुर्घटनाका घाइतेहरूको नेपाली सेनाद्वारा हवाई उद्धार, उपचारका लागि नेपालगन्ज र काठमाडौं पठाइयो

काठमाडौं । बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आइतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुर्‍याएको छ । हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको छ ।

साथै सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

बझाङ, केदारस्यूँ गाउँपालिका-७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।