काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित उद्यमले बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
बैंकका अनुसार कर्जा मूल्यांकन का लागि अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक सहयोगमा विशेष मूल्यांकन प्रणाली विकास गरिएको छ। उक्त प्रणालीले धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमता लगायतका पक्षको समग्र मूल्यांकन गर्नेछ।
यस व्यवस्थाले धितो अभावका कारण वित्तीय सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकताका साथ कर्जा उपलब्ध गराउन सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले योजनासम्बन्धी थप जानकारीका लागि देशभर रहेका आफ्ना ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।