नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ ।
कृषि क्षेत्रको प्रवर्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराई बताए । देवचुली नगरपालिकाले कृषि नवप्रवर्धन साझेदारी परियोजनामार्फत किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको हो । कृषि विकास शाखाका प्रमुख भट्टराईका अनुसार नवप्रवर्धन साझेदारी परियोजना, नगरपालिका र किसानहरूको पचास-पचास प्रतिशतको लागत सहभागितामा कृषि सामग्री वितरण गरिएको हो ।
यस कार्यक्रमबाट १३ भन्दा बढी कृषक समूह, ७० भन्दा बढी उद्यमी तथा व्यावसायिक किसान लाभान्वित भएका छन् । किसानहरूको आवश्यकता र मागका आधारमा सामग्री वितरण गरिएको उनले बताए।
नगरपालिकाले ३० वटा ६ हर्जपावरका हातेट्याक्टर, २८ वटा सात हर्जपावरका हातेट्याक्टर, सातवटा धान काट्ने मेसिन, मकै रोप्ने मेसिन (ज्याब प्लान्टर) २१ वटा, पुस सिडर चारवटा, मकै छोडाउने मेसिन (कर्न थ्रेसर) १० वटा, कुटानी-पिसानी मेसिन ६ वटा, दाना बनाउने मेसिन एक, तौल लिने मेसिन एक, धान तथा गहुँ काट्ने, थ्रेसिङ गर्ने कम्बाइन हार्भेस्टर एक तथा ट्रेलर एकलगायतका आधुनिक कृषि सामग्री वितरण गरेको छ ।
ठूला ट्याक्टर सञ्चालन गर्न कठिन हुने पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै हातेट्याक्टर वितरण गरिएको शाखाले जनाएको छ । यसै कार्यक्रममा देवचुली-४ वडा कार्यालयले पनि किसानका लागि तीनवटा सात हर्जपावरका हातेट्याक्टर, दुईवटा मकै रोप्ने मेसिन (ज्याब प्लान्टर), चारवटा पुस सिडर र दुईवटा कुटानी-पिसानी मेसिन वितरण गरेको छ । उक्त सामग्री खरिदका लागि वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेको थियो ।
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले किसानको आर्थिक विकासका लागि अनुदानमा कृषि उपकरण उपलब्ध गराएको बताए ।
उनले आधुनिक कृषि सामग्रीको प्रयोगले उत्पादनशीलता वृद्धि हुनुका साथै कृषि व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । किसानहरूको उत्प्रेरणा बढाउँदै जीवनस्तर उकास्न नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले जनाए ।