• Menu

सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार र पारिवारिक पुनर्मिलन गराइनेछ : मन्त्री वादी

नेपाल प्रफिट

२०८३ असार २२, १७:५५

सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार र पारिवारिक पुनर्मिलन गराइनेछ : मन्त्री वादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा सो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दिवा सेवा केन्द्र नभएका ५० स्थानीय तहमा साझेदारीमा नयाँ केन्द्र स्थापना गरिने जानकारी दिइन् ।

उनले भनिन्, ‘स्थानीय तहको आवश्यकता र सिफारिसका आधारमा सेवा केन्द्र स्थापनाका लागि स्थान तय गरिने छ । त्यसका लागि मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी सहजीकरण गर्ने छ ।’

आगामी आवमा भक्तपुरको सूर्यविनायकमा भवन निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले सडक बालबालिकाको विषयमा पनि मन्त्रालय संवेदनशील रहेको बताइन् ।

आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्यका ‘विशेष संरक्षण निर्देशिका-२०८२’ स्वीृकत गरिएको उनले उल्लेख गरिन् ।

‘सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलन गराउने व्यवस्था राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह, नेपाल प्रहरी र अन्य संघसंस्थाको समन्वयमा अगाडि बढाइरहेको छ,’ उनले भनिन् ।

उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास, उद्यमशीलता, स्वरोजगार र प्रविधिमा पहुँच, सीप परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको बताए ।

मन्त्री वादीले महिलामाथि हुने हत्या तथा सबै प्रकारका हिंसाप्रति सरकार अति गम्भीर र संवेदनशील रहेको बताउँदै हिंसा प्रभावित तथा जोखिममा रहेका महिला र किशोरीको आर्थिक सशक्तीकरण कार्यक्रमलाई बजेटमा समावेश गरिएको प्रष्ट पारिन् ।

उनले आगामी आर्थिक वर्षमा संविधान बमोजिम महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलनका नाममा कुनै पनि यौनजन्य शोषण हुन नदिन लैङ्गिक हिंसाविरुद्धको एकीकृत कानुन तर्जुमा गरिने बताइन् ।