काठमाडौं । नेपाली जुत्ता ब्रान्ड पीजी सुज उत्पादन गर्ने पारागन फुटवेयर इन्डस्ट्रिज स्थापना भएको २८ वर्ष पूरा गरी बुधबारदेखि २९औँ वर्षमा प्रवेश गरेको छ । स्वदेशी सीप, गुणस्तरीय उत्पादन र आधुनिक प्रविधिलाई आधार बनाउँदै अघि बढेको कम्पनीले अब आयातित जुत्ताको विकल्प मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
२०५५ असार १७ गते स्थापना भएको कम्पनीले नेपाली छालाका जुत्ता तथा छालाजन्य सामग्री उत्पादन गर्दै आएको छ। सुरुआती चरणमा अधिकांश काम हातैले हुने गरेको उद्योग अहिले अत्याधुनिक मेसिन प्रविधिमा आधारित उत्पादन प्रणालीमा रूपान्तरण भएको कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्गले बताए ।
उनका अनुसार कम्पनीले सुरुदेखि नै गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । अहिले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकसम्मका उपभोक्ताको आवश्यकता र रोजाइअनुसार विभिन्न प्रकारका जुत्ता बजारमा उपलब्ध गराउँदै आएको छ।
सुरुआतमा दैनिक १५ देखि २० जोर जुत्ता उत्पादन गर्ने उद्योगको उत्पादन क्षमता अहिले उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीका उत्पादन देशभर बिक्री हुँदै आएका छन् भने उद्योग र सोरुममार्फत करिब एक सय जनाले प्रत्यक्ष तथा साढे तीन सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रबन्ध निर्देशक तोलाङ्गले नेपाली बजारमा आयातित जुत्ताको निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिलाउने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको बताए । आगामी दिनमा नेपाली उपभोक्ताले विदेशी जुत्ता खोज्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशी उत्पादनलाई नै पहिलो रोजाइ बनाउने र निर्यात विस्तारमा जोड दिने उनको भनाइ छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-९ स्थित उद्योगमा पार्टी, क्याजुअल, विद्यालय, कलेज, खेलकुद तथा बालबालिकाका लागि आवश्यक विभिन्न प्रकारका जुत्ता उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीका बजार व्यवस्थापन प्रमुख राजेन्द्र तोलाङ्गले दिगो बजार, स्थानीय कच्चा पदार्थको उपयोग र आधुनिक प्रविधिको समन्वय नै उद्योगको दीर्घकालीन सफलताको आधार भएको बताए। उनका अनुसार कम्पनीले अब पीजी सुजका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने तयारी गरिरहेको छ।
उनले नेपाली भौगोलिक अवस्था, उपभोक्ताको क्रयशक्ति तथा आवश्यकतालाई ध्यानमा राखेर जुत्ता उत्पादन गरिएको उल्लेख गर्दै सामान्य उपभोक्तादेखि कर्मचारी, विद्यार्थी, नेपाली सेना र नेपाल प्रहरीसम्मका लागि उपयुक्त उत्पादन विकास गरिएको जानकारी दिए।
राजेन्द्र तोलाङ्गका अनुसार पारागनका उत्पादन गुणस्तरका हिसाबले अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको उपभोक्ताले अनुभव गरिसकेका छन्। यही विश्वासका कारण कम्पनीले २८ वर्षको सफल यात्रा पूरा गर्न सकेको उनको भनाइ छ।
नेपाली हातले उत्पादन गरेका जुत्ताप्रति स्वदेशी मात्र होइन, विदेशी उपभोक्ताको आकर्षणसमेत बढ्दै गएको उनले बताए । गुणस्तरीय, टिकाउ र उचित मूल्यका कारण नेपाली जुत्ताको लोकप्रियता निरन्तर बढिरहेको उल्लेख गर्दै उनले स्वदेशी उद्योगहरूले अझ आधुनिक प्रविधि अपनाउन सके विदेशी उत्पादनसँग सहज रूपमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले नेपाली जुत्ता उद्योगहरूले उपभोक्ताको आवश्यकता, अन्तर्राष्ट्रिय बजारको रुचि र नयाँ प्रविधिलाई ध्यानमा राखेर आकर्षक तथा प्रतिस्पर्धी उत्पादन गर्न सके स्वदेशी उद्योगको भविष्य अझ उज्ज्वल हुने धारणा राखे।
कम्पनीका अनुसार आधुनिक प्रविधि र गुणस्तरमा निरन्तर लगानी गरेका कारण नेपाली उपभोक्तामाझ स्वदेशी ब्रान्ड पनि गुणस्तरीय, भरपर्दो र किफायती हुन्छ भन्ने विश्वास बलियो बन्दै गएको छ।