• Menu
s

सेयर बजार लगातार दोस्रो दिन पनि घट्यो

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार १६:०६

सेयर बजार लगातार दोस्रो दिन पनि घट्यो

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २ हजार ६६० अंकमा झरेको छ। यो स्तर पछिल्लो चार महिनायताकै न्यून रहेको छ।

यसअघि मंगलबार पनि नेप्से २६.१६ अंकले घटेको थियो। बजार खुला अवधिभर दबाबमा रहँदा दिउँसो करिब १ बजे परिसूचक दिनकै न्यून २ हजार ६३४ अंकसम्म पुगेको थियो। हालको अंक फागुन १४ यताकै सबैभन्दा कम हो।

बजार घटे पनि कारोबार रकममा सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सहभागी कम्पनीमध्ये ६२ वटाको सेयर मूल्य बढ्दा २०२ वटाको घटेको छ भने १० वटाको मूल्य स्थिर रहेको छ।

क्षेत्रगत रूपमा वित्त र व्यापार समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन्। वित्तसमूह ०.१९ प्रतिशत र व्यापार समूह ०.८१ प्रतिशतले बढेका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा तथा अन्य समूहमा भने गिरावट देखिएको छ।

हालै सूचीकृत टक्सार पिखुवाखोला जलविद्युत र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १५ प्रतिशत वृद्धि भएको छ। दुवै कम्पनीको सेयर मूल्य ४५६ रुपैयाँ २० पैसामा पुगेको छ।

त्यस्तै, भुजुङ हाइड्रोपावरको सेयर मूल्य १४.६९ प्रतिशत, सीवाईसी लघुवित्तको ९.९० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्सको ५.८९ प्रतिशतले बढेको छ। विपरीत रूपमा सोपान फर्मास्युटिकल्सको मूल्य ५.०५ प्रतिशत र भगवती हाइड्रोपावरको ३.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।