
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सकिएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आएको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ ।
यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक १५९, अमेरिकी १५२, भारतीय १०१, जर्मन ७५, बेलायती ७४, रुसी ७०, नेपाली ४४, क्यानेडियन ४१, पोल्यान्डका नागरिक ३२ र फ्रान्सेली २७ जना छन् ।
पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएकोमा सगरमाथा आरोहण अनुमति लिने ४९५ रहेको जानकारी दिए ।
सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए ।
यो वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना चीनका आरोही पुगेका छन् । यस्तै अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अस्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२ र आयरल्यान्डका ११ आरोही पुगेका छन् ।
यो वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरिता शेर्पाले विश्व कीर्तिमान कायम राखेका छन् । सोलुखुम्बुका शेर्पाले जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका हुन् ।
यस्तै, महिला आरोहीमा संखुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी हुन् ।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट एक खर्ब आठ करोड १० लाख ७२५ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजंगाबाट एक करोड ६५ लाख ४० हजार ५०० र अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व संकलन भएको छ ।
यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व संकलन गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal