
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अंकले घटेको बजार आज १.६३ अंकले बढ्दै २७०२ अंकमा पुगेको छ।
पछिल्ला केही दिनदेखि बजारमा ठूलो उतारचढाव नदेखिएको अवस्थामा शुक्रबार पनि नेप्से २६९२ देखि २७११ अंकको सीमाभित्र कारोबार भएको थियो ।
कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्रको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ क्षेत्र ०.०८ प्रतिशतले घट्दा विकास बैंक ०.१३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत तथा अन्य समूह ०.२९ प्रतिशतले ओरालो लागे ।
यता फाइनान्स समूहमा ०.६६ प्रतिशतको वृद्धि देखियो । जलविद्युत ०.०९ प्रतिशत, लगानी ०.११ प्रतिशत, जीवन बिमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत तथा व्यापार समूह ०.७५ प्रतिशतले उकालो लागे।
आज दुई नयाँ सूचीकृत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढेको हो। यससँगै सोपानको प्रतिकित्ता मूल्य १ हजार ६० रुपैयाँ र एपोलो हाइड्रोपावरको ९१६ रुपैयाँ पुगेको छ ।
त्यसैगरी सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.०८ प्रतिशत, रिलायन्स फाइनान्सको ६.७२ प्रतिशत तथा गुराँस लघुवित्तको ४.५५ प्रतिशतले बढेको छ।
घट्ने कम्पनीतर्फ बुंगल हाइड्रोपावरको सेयर मूल्य १२.४५ प्रतिशतले ओरालो लाग्यो। आत्मनिर्भर लघुवित्त १०.२१ प्रतिशत र सालपा विकास बैंक ३.२८ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा आज सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर र बुंगल हाइड्रोपावर अग्रस्थानमा रहे ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal