
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० अंकमा झरेको छ । दिनभर बजारमा ठूलो उतारचढाव नदेखिए पनि लगानीकर्ताको सक्रियता केही कम भएको देखियो । अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंकले बढेको थियो ।
आजको कारोबारमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो। कारोबार भएका कम्पनीमध्ये ११६ वटाको सेयर मूल्य बढ्दा १४३ वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
समग्र बजारमा गिरावट देखिए पनि फाइनान्स समूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण उल्लेखनीय रह्यो । यस समूहको परिसूचक १.०१ प्रतिशतले बढेर जेठ २८ यताकै उच्च स्तर २४९० बिन्दुमा पुगेको छ। फाइनान्स समूहअन्तर्गत मञ्जुश्री फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशतले उकालो लागेको छ।
फाइनान्सबाहेक लघुवित्त समूह ०.४२ प्रतिशत तथा व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन्। यता बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा तथा अन्य समूहका परिसूचकमा भने गिरावट देखिएको छ।
शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला जलविद्युत र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य लगातार दोस्रो दिन पनि १५ प्रतिशतले बढेको छ। यससँगै दुवै कम्पनीको बजार मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ।
त्यसैगरी सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ। विपरीत रूपमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको मूल्य समान ३.०४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत कम्पनी तथा रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal