• Menu
s

११ महिनामा वैदेशिक व्यापार झण्डै २२ खर्ब पुग्दा व्यापार घाटा १६ खर्ब नाघ्यो, अर्थतन्त्र अझै आयातमुखी

नेपाल प्रफिट

२०८३ असार ८, १६:३०

११ महिनामा वैदेशिक व्यापार झण्डै २२ खर्ब पुग्दा व्यापार घाटा १६ खर्ब नाघ्यो, अर्थतन्त्र अझै आयातमुखी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि हुँदै २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा वस्तु आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको थियो। आयातमा भएको तीव्र वृद्धिले कुल व्यापार विस्तारमा मुख्य योगदान दिएको देखिएको छ ।

यता, निर्याततर्फ पनि सुधार देखिएको छ। ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको थियो।

तर आयातको तुलनामा निर्यातको वृद्धि कमजोर रहँदा व्यापार घाटा थप विस्तार भएको छ। समीक्षा अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो ।

तथ्यांकले नेपालको अर्थतन्त्र अझै पनि आयातमा अत्यधिक निर्भर रहेको संकेत गरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत रहेको छ भने निर्यातको हिस्सा केवल १२.८० प्रतिशतमा सीमित छ। अघिल्लो वर्ष निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकामा यस वर्ष केही घटेको देखिएको छ ।

त्यस्तै, आयात-निर्यात अनुपात पनि बढेको छ। गत वर्ष ६.६४ रहेको अनुपात चालु वर्षको ११ महिनामा ६.८१ पुगेको छ। यसको अर्थ नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा करिब ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरिरहेको छ ।

वैदेशिक व्यापारको आकार बढ्दै गए पनि व्यापार घाटा लगातार विस्तार भइरहनुले स्वदेशी उत्पादन वृद्धि, औद्योगिक विकास तथा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी नीति र कार्यक्रम आवश्यक रहेको संकेत गरेको छ ।