• Menu

एसइई नतिजाः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपाल प्रफिट

२०८३ वैशाख २९, मंगलबार १०:५५

एसइई नतिजाः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) (२०८२ सालको) को नतिजा सोमबार राति सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।

यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए। सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २२२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जीपीए, ५५ हजार ९७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए, पाँच हजार १९० जनाले दुईदेखि दुई दशमलव ४० जीपीए र सात जनाले एक दशमलव ६० देखि दुई जीपीए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने छ।

यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।