• Menu

विचार

वायु प्रदूषणको दुष्प्रभाव र बच्ने उपाय : डा. रवि महत

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १३:२०

वायु प्रदूषणको दुष्प्रभाव र बच्ने उपाय : डा. रवि महत

ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिबिलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडानसमेत रोकिएको अवस्था छ ।

अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सोभित्र तानिरहेका हुन्छौँ । एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११ सय लिटर जति हावा लिन्छौँ ।

प्रदूषित हावामा धुलोको कण तथा हानिकारक ग्याँस मिसिएको हुन्छ । हामीले श्वास लिँदा हावासँगै त्यसमा मिसिएका कण र हानिकारक ग्याँस पनि फोक्सोभित्र प्रवेश गर्छ, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

धुलोका अत्यन्त साना कण तथा हानिकारक ग्याँस फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्‍याउन सक्छ ।

वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।

तत्कालीन असर आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँछ र निमोनिया जस्ता घातक रोग लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।

दीर्घकालीन असर

प्रदूषित स्थानमा लामो समयसम्म बस्दा त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्या सिर्जना गर्न सक्छ । प्रदूषणबाट हुने दीर्घकालीन समस्यामध्ये प्रमुख रोग दम नै हो । साथै, फोक्सोको क्यान्सर, उच्च रक् चाप, हृदयघात, मस्तिष्क घात, मुटुको चाल अनियमित हुने जस्ता समस्या पनि देखिन सक्छ ।

वायु प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदूषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्छ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने र पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्छ ।

यसबाट कसरी जोगिने ?

व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणका लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन ।

सहरी क्षेत्रको कुरा गर्दा प्रदूषण बढ्ने विशेष समय भनेको बिहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर नस्किनु हुँदैन । सकेसम्म प्रदूषण कम हुने समयमा मात्र निस्किनुपर्छ ।

निस्कनै परेमा मास्कको प्रयोग गर्नुपर्छ । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशतसम्म कणहरूलाई छेक्न सक्छ, यद्यपि हानिकारक ग्याँस र अत्यन्त सूक्ष्म कणबाट भने यसले पनि बचाउन सक्दैन ।

ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घर भित्रबाट हुने प्रदूषण जस्तै: दाउरा, गुइँठा मट्टीतेलको चुलो आदिमा खाना पकाउने इन्धन हो । त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुँवा जम्मा नहुने किसिमले वायुसञ्चारको व्यवस्था मिलाउने र स्वच्छ ऊर्जाको प्रयोगमा बढी जोड दिने आदि हो ।

वनजंगल वन्यजन्तुको साझा घर हुनुका साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । मानवीय रूपमा पनि वनजंगलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाइ कारबाही गर्ने नियम कानुनको अवलम्बन गर्न आवश्यक छ ।

(डा. महत काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल श्वासप्रश्वास रोग विशेषज्ञ हुन् ।)