• Menu

पार्किन्सन रोग लाग्नबाट कसरी बच्ने ? लागिहाल्यो भने के गर्ने ? डा. राजु पौडेलको सुझाव

नेपाल प्रफिट

२०८१ वैशाख १३, ०९:४१

पार्किन्सन रोग लाग्नबाट कसरी बच्ने ? लागिहाल्यो भने के गर्ने ? डा. राजु पौडेलको सुझाव

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अप्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाउने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनुका साथै बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाइँदै आएको छ ।

दिमागको भित्री भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरीरलाई सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरीर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निष्क्रिय हुँदै जान्छ, तब पार्किन्सन रोग देखिन थाल्छ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाइन्छ ।

पार्किन्सन रोगका लक्षणहरु

पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नाभिन्दै लक्षण देखिन्छन् । मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगलाई असर गर्ने लक्षण हुन्छन् ।

मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन, सुस्तपना र हिँडाइमा समस्या आदि रहेका छन् । हिँड्डुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिका हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा बिरामीको हातमा हुने कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।

यो रोग लागेपछि हिँड्डुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण सहज कार्यमा समेत कठिनाइ उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँड्डुल गर्दा धेरै समय लाग्न सक्छ ।

शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लिखित कुनै पनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ ।

यस्तै, मांसपेशीबाहेक अन्य अंगलाई असर गर्ने लक्षणहरुसमेत पार्किन्सनका लक्षण हुन सक्छन् । जसमा निद्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाब तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा बिर्सने आदि पर्छन् ।

नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेको पाइन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७ सय जनाको मृत्यु हुने गरेको छ ।

उपचार विधि

दिमागको भित्री भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ ।

यो रोग औषधि सेवनका कारण पूरा निको हुने रोग भने होइन । त्यसकारण रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षण पनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक पर्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २ सयको हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना बिरामी ७ सयको हाराहारीमा उपचाररत छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।

(डा. पौडेल काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्युरोलोजिस्ट हुन् ।)