काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । काठमाडौँमा बिहीबार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन पत्रसहित खादा लगाएर सम्मान गरेका छन् ।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ ।
प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामीण समाजबाट हासिल गरेका ढकालले मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, बिमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गरिसकेका छन् । उनले नेतृत्व गरेको आइएमई समूहले अहिले करिब २० हजारलाई रोजगारी दिएको छ ।
ढकाललाई मलुकको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवं अनेकौं क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप सम्मान प्रदान गरिएको अभिनन्दन पत्रमा उल्लेख छ ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।