• Menu

नयाँ वर्षको अवसर पारेर गृह मन्त्रालयले सुरु गरेका यी तीन काम

नेपाल प्रफिट

२०८० चैत ३०, शुक्रबार २०:२४

नयाँ वर्षको अवसर पारेर गृह मन्त्रालयले सुरु गरेका यी तीन काम
फाइल तस्बिर ।

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर गृह मन्त्रालयले तीनवटा काम सुरु गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाएका छन् । फागुन ४ गते दुई महिनाका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र तोकिएकोमा सुरक्षा चुनौतीको विश्लेषणपछि वैशाख १ देखि लागू हुने गरी हटाइएको हो ।

त्यस्तै ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४सै घण्टा खुल्ने भएको छ । गृह मन्त्रालयले वैशाख १ देखि सो क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदर्शनका क्रममा भएको वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको गृह मन्त्रालयले गरेको छ ।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ । यो लोकतन्त्रको सौन्दर्य हो तर प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन,’ उनले भने, ‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ, बिल चाँडै पठाइनेछ ।’