प्रफिट वार्ता
कागेश्वरी मनोहरा नगरपालिका साविकको गागलफेदी गाविसमा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामांकन गरिएको हो । गागलफेदीसँगै साविकका गोठाटार, मूलपानी, डाँछी, भद्रबास र आलापोट गाविस पनि यो नगरपालिकामा समायोजन गरिएका छन् । धार्मिक, सांस्कृतिक एवं प्राकृतिक स्रोतहरुको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुखको जिम्मेवारी २०७९ साल वैशाखदेखि नेकपा (एमाले) की नेतृ शान्ता थापाले निभाइरहेकी छन् । उनले जिम्मेवारी सम्हालेको साढे तीन वर्ष पुरा भएको छ । जिम्मेवारी निर्वहनका क्रममा प्राप्त अनुभव, कार्यगत चुनौती, नगर विकासको अवस्थालगायत विषयमा केन्द्रित रहेर उपप्रमुख थापासँग गरिएको कुराकानी :
०००
कागेश्वरी महनोहरा नगरपालिकाको उपप्रमुखको हैसियतमा साढे तीन वर्ष जिम्मेवारी पुरा गरिसक्नुभएको छ, यो अवधिलाई कसरी सम्झिनुहुन्छ ?
हामीलाई २०७९ सालमा जनताले नगरपालिकाको समृद्धिको अपेक्षासहित चयन गर्नुभयो । त्यसयता उहाँहरुका हरेक कदममा म सँगै छु । नागरिकलाई अप्ठ्यारो पर्दा आफू साथमा हुनुपर्छ भन्ने मान्यताबाट अहिलेसम्म म अघि बढिरहेको छु । जिम्मेवारी निर्वहनका सिलसिलामा जानेर कुनै पनि बदमासी गरिएको छैन । मैले गरेका काम-कारबाहीलाई लिएर असन्तुष्टि व्यक्त गर्न अहिलेसम्म कुनै पनि नागरिक टेबलमा आउनुभएको छैन । सबैभन्दा खुसी यसैमा लाग्छ ।
म बसिरहेको कुर्सी जनताको कुर्सी हो, मैले घरबाट ल्याएको निजी कुर्सी होइन । कार्यकाल सकिएका दिन यसलाई यहीँ छाडेर जानुपर्छ । हामी यहाँ नगरबासीको सेवाका लागि हाजिर छौँ । बिदाको दिनबाहेक हरेक दिन बिहान कर्मचारीसँगसँगै आइपुग्छु । जनताले पठाएको मान्छे जनताले खोजेको बेला पाउनुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेको छु । शासक होइन, सेवकका रुपमा नागरिकको प्रतिनिधित्व गरिरहेको छु । नागरिकको मतको दुरुपयोग गरेको छैन र गर्दिन ।

नगरपालिका प्रमुख नेपाली कांग्रेसको तर्फबाट हुनुहुन्छ, तपाईं एमालेबाट । फरक दलबाट प्रमुख र उपप्रमुख हुँदा कतिपय पालिकामा निकै समस्या पनि देखिएका छन्, यहाँको वातावरण कस्तो छ ?
हामी अहिलेसम्म सबै जनप्रतिनिधिको कर्तव्य र दायित्व एउटै हो भन्ने समान बुझाइमा छौँ जस्तो लाग्छ । प्रमुख र उपप्रमुखलाई संविधानले नै फरक–फरक जिम्मेवारी दिएको छ । प्रमुखलाई अधिकार धेरै छ, प्रमुखलाई भन्दा उपप्रमुखलाई जिम्मेवारी अत्यन्तै धेरै छ । नगरपालिकाका सबै शाखाका संयोजक उपप्रमुख नै हुने व्यवस्था छ । ती सबै शाखाको कुनै न कुनै बैठक, अनुगमन परिरहन्छ । त्यसमध्ये पनि न्यायिक समिति र आयोजना तथा बजार अनुगमनको काम निकै जटिल प्रकृतिको छ ।
नगर प्रमुखसँग अहिलेसम्म ठुलो समस्या छैन । कतिपय विषय आउँछन्, सँगै बसेर समाधान गरेर अघि बढ्ने गरिएको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका विषयमा हामी सधैँ एकमत छौँ । जनप्रतिनिधि सबै एउटै डुंगामा छौँ । कहिलेकाहीँ उतारचढाव भइहाले छलफल गरेर टुंगोमा पुग्छौँ ।
न्यायिक समितिमा कति जति उजुरी आउँछन् ? त्यसको निरुपण कसरी गर्नुहुन्छ ?
अहिले न्यायिक समिति नागरिकका गुनासो बिसाउने थलो बनेको छ । पालिकाको न्यायिक समितिकै कारण अदालतहरुमा मुद्दाको चाप नै घटेको जानकारी हामीले पाएका छौँ । यसको अर्थ स्थानीय तहको न्यायिक समितिले प्रभावकारी काम गरेको छ । कागेश्वरी मनोहरामा आइतबार सधैँ न्यायिक समितिको इजलास बस्छ । भ्याइएन भने शुक्रबार पनि बस्छौँ । देशभरका ७५३ पालिकाका न्यायिक समितिमध्ये हामी ३५औँ नम्बरमा छौँ । यो नतिजाले पनि हामी राम्रै गरिरहेका रहेछौँ भन्ने लाग्छ ।
हामीसँग जस्ता खालका पनि उजुरी आउँछन् । साँध सिमाना, झैझगडा, लेनदेन जस्ता कानुनले तोकेका सबै खाले विवाद न्यायिक समितिले निरुपण गरिरहेको छ । औतसमा ८० प्रतिशतभन्दा बढी उजुरी हामीले समाधान गर्ने गरेका छौँ । वडा-वडामा पाँच-पाँच जनाको मेलमिलाप केन्द्र गठन गरिएका छन् । धेरै विषय उहाँहरुले नै निराकरण गर्नुहुन्छ । त्यहाँबाट समाधान भएन भने समितिमा आइपुग्छ । हामीले गरेका काममा नागरिक सन्तुष्ट हुनुहुन्छ । कुनै पनि समस्या भयो भने नगरबासीहरु विश्वास गरेर हामीकहाँ आउनुहुन्छ ।

योजना निर्माणका क्रममा धेरै भ्रष्टाचार हुने गरेको पाइन्छ । नगरबासीको सबैभन्दा असन्तुष्टिको विषय पनि विकासका काम गुणस्तरीय भएनन्, भ्रष्टाचार भयो भन्ने नै हो, यहाँको अनुभव के छ ?
कागेश्वरी मनोहरा नगरपालिकामा नौ वटा वडा छन् । प्रत्येक वडामा जनप्रतिनिधि हुनुहुन्छ, प्राविधिकहरु हुनुहुन्छ । विकास निर्माणका कार्यमा उहाँहरु स्वयं खटिनुभएको छ । उहाँहरुले एक तहको काम सकेपछि नगरपालिकाको टिम जान्छ ।
आयोजना निर्माणका सिलसिलामा कतैबाट बदमासी भएको गुनासो आयो भने हामी जति बेला पनि फिल्डमा पुगिहाल्छौँ । अनुगमनका लागि प्राविधिकसहितको टोली छ । काम सकिएपछि अनुगमनमा जाँदा त्यसको मूल्यांकन गर्ने परिपाटी छ, संयन्त्र छ । उहाँहरुले गरेको काम र मेहनत देख्दा बजेट दुरुपयोग भए जस्तो लाग्दैन । सडक निर्माणको काम हामीले करिब सकेका छौँ । कतै छिटपुट रुपमा मात्र रहेको हुनसक्छ ।
बाहिरका मानिस बसेको ठाउँ अर्थात् मतदाता नभएका ठाउँका सडकलाई बेवास्ता हुन्छ, भन्ने सुनिन्छ नि !
त्यस्तो हुँदैन र हुनु हुँदैन पनि । मतदाता नभएका कारण बेवास्ता गर्न मिल्दैन । उहाँहरु दयाका पात्र होइन, सडक सबैको अधिकार हो । कतिपय ठाउँमा एक इन्च छाड्नुप¥यो भने पनि विवाद सुरु हुन्छ र काम अघि बढाउन समस्या पर्छ । त्यस्तो ठाउँमा जबर्जस्ती गर्न मिल्दैन किनकि त्यो व्यक्तिको सम्पत्ति हो । विवाद नभएका ठाउँमा सडक निर्माण बाँकी छैन । बाटो निर्माणका लागि वडाबासी स्वयं पनि सक्रिय हुनुपर्छ ।

अर्को भनेको बजारमा बेथिति धेरै छ, बजार अनुगमन कसरी गर्ने गर्नुभएको छ ?
हामी धेरै सुखभोगी भएका छौँ । हाम्रा खेतबारी बाँझा छन् । उत्पादनका लागि रुची छैन । हामीलाई सर्लक्क परेको मुला र साग चाहिन्छ । रासायनिक मल र विषादीका कारण माटोको उर्वराशक्ति नष्ट भइसकेको छ । दुई पात नहुँदैदेखि विषादी प्रयोग गरिरहेको पाइन्छ । त्यसरी विषादी र रासायनिक मल प्रयोग गरेको तरकारी सर्लक्क परेको हुन्छ । उपभोक्ताले पनि त्यस्तै खोज्नुहुन्छ । रासायनिक मल र विषादी प्रयोग नभएको तरकारी कतै पात प्वाल परेर हुन्छ, साग भए अलि घुम्रिएको हुन्छ । त्यसकारण समस्या धेरै छ ।
बेमौसमी तरकारी उत्पादन गर्ने चलन बढेको छ । बेमौसमी उत्पादन गर्न सजिलो छैन । विषादी प्रयोग गरेको २४ घण्टा नबित्दै बजारमा ल्याइसकेको हुन्छ । अनुगमनका क्रममा यस्तो प्रशस्तै भेटिन्छ । लेबल सकिएको ट्यागमाथि अर्को ट्याग टाँसेको पाइन्छ । यहाँ अर्को समस्या के छ भने हामीलाई अनुगमन गर्ने अधिकार छ तर कारबाही गर्ने अधिकार छैन, अर्कै निकायमा लेखेर पठाउनुपर्छ । त्यसपछि बदमासीले अरु–अरु रुप पनि लिन सक्छ । यावत् प्रतिकूलताका बाबजुद बजार अनुमगनलाई नतिजामुखी बनाउने प्रयासमा छौँ ।
बजार अनुगमन नियमित हुन्छ कि गुनासो आएपछि मात्र गर्नुहुन्छ ?
गुनासो आयो भने तत्कालै अनुगमनमा जान्छौँ । नत्र कहिलेकाहीँ समय मिलाएर अनुगमन गर्ने गरेका छौँ ।
‘लोकसेवा पास गर्न मेहनत गरेबराबरको तलब सरकार दिएको छ, सेवाग्राहीको काम गर्दा चाहिँ छुट्टै लिनुपर्छ’ भन्ने मानसिकता धेरै कर्मचारीमा पाइन्छ । यहाँको अवस्था के छ, कर्मचारीका काम-कारबाहीसँग नगरबासी कति सन्तुष्ट छन् जस्तो लाग्छ ?
‘थाहा नपाउँदाको चोर पनि मितैबराबर’ भन्ने एउटा नेपाली उखान छ । कर्मचारीलाई नेपाल सरकारले तोकेर कानुनबमोजिम तलब प्रदान गरेको छ । उहाँहरु नागरिकको सेवा गर्नै भनेर लोकसेवा लडेर आउनुभएको हो । उहाँहरुको दायित्व होला, कर्तव्य होला । तर, आजका दिनसम्म वडाबासीबाट त्यस्तो सुन्नुपरेको छैन । यसमा गर्व लाग्छ ।
फेरि पनि म सबैलाई भन्न चाहन्छु- हामी जनप्रतिनिधि हौँ, तपाईंहरु लोकसेवा लडेर आएको कर्मचारी हुनुहुन्छ । यो पालिकामा काम गर्न मन छ भने तपाईंले नगरबासीलाई मुस्कानसहितको सेवा दिनुपर्छ । यहाँ बसुन्जेल तपाईंहरुको पनि पालिका हो ।

आगामी योजना के छन् ? आगामी कार्यकालका लागि नगर प्रमुखको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आयो भने तयार हुनुहुन्छ ?
पहिलो त नगरबासीको चित्त नदुखाईकन काम गरेर निस्किन पाइयोस् भन्ने कामना छ । त्यति भयो भने सफल भएँ भन्ने ठान्छु । नियमित काम धेरै छन् । अर्को पटक नगर प्रमुखका लागि पार्टीले अघि बढायो भने जिम्मेवारी निर्वाहका लागि तयार छु । अहिलेको अनुभवले विश्वास बढाएको छ ।
तस्बिर : आशुतोष चालिसे
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal