• Menu

२३ वर्षदेखि बन्द मझगाउँ विमानस्थल पुनर्निर्माणमा देखिएका समस्या हल गर्ने पर्यटनमन्त्री पौडेलको प्रतिबद्धता

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार १७:२१

२३ वर्षदेखि बन्द मझगाउँ विमानस्थल पुनर्निर्माणमा देखिएका समस्या हल गर्ने पर्यटनमन्त्री पौडेलको प्रतिबद्धता

महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री पौडेलले बुधबार स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे सम्बन्धित जानकारी लिएका थिए । अवलोकनका क्रममा उनले राज्यको लगानी खेर जान नहुने बताउँदै विमानस्थलको पुनर्निमार्णमा देखिएका समस्या समाधान गरिने बताए । त्यसैगरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेका छन् ।

२०५८ सालमा सुरक्षाको कारण देखाउँदै बन्द भएको विमानस्थल त्यसयता सञ्चालनमा आउन सकेको छैन । पुनर्निर्माणका लागि तीन वर्षमा सम्पन्न गर्ने गरी २०७८ सालमा ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भए पनि विमानस्थलको निर्माण कार्य हाल ७५ प्रतिशत सकिएको छ । पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समयावधि बढाइएको छ । एक हजार ५२५ मिटर रन्वे कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर रन्वे निमार्ण भएको छ ।

लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएको विमानस्थलको रन्वेका लागि गत वर्ष नेपाली सेनाले जग्गा दिएपछि निर्माणले गति पाएको हो । विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा संघीय सरकार, प्रदेश र स्थानीयमा भीमदत्त तथा दोधारा चाँदनी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ तथा संघीय सरकारको ५० प्रतिशत लगानी रहेको बताइएको छ ।