• Menu

द्विपक्षीय व्यापार विस्तारका सम्बन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदूतबीच छलफल

नेपाल प्रफिट

२०८० फागुन २७, १६:३३

द्विपक्षीय व्यापार विस्तारका सम्बन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदूतबीच छलफल

विराटनगर । उद्योग संगठन मोरङले बंगलादेश र नेपालबीच हुनसक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग छलफल गरेको छ ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउँदै समाधानका लागि सहजीकरण गर्न राजदूतसमक्ष आग्रह गरे ।

अध्यक्ष सुरानाले बंगलादेशस्थित व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरुसँग संस्थागत सम्बन्ध विस्तारमा जोड दिँदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन र्‍यालीका साथै नेपाल र बंगलादेशका उद्योगीबीच सम्बन्ध विस्तारका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरे ।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशका बीच धेरै क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेको बताए । उनले दुई मुलकका औद्योगिक तथा व्यवसायीबीचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर रहेको स्पष्ट पारे । ‘निर्यातमा देखिएका समस्या समाधान लागि मेरो तर्फबाट पहल र प्रयास रहन्छ,’ उनले भने ।

राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्‍याली आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै बंगलादेश दूतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारी, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दूतावासका प्रतिनिधिको सहभागिता थियो ।