काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुनको मूल्य शुक्रबारभन्दा प्रतितोला १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार बढ्न थालेको सुनले ५ दिनदेखि दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । आइतबारको मूल्य पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।
मंगलबारयताका ५ दिनमै सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढिसकेको छ । मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भएको सुन बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँ पुगेको थियो ।
तेजाबी सुन भने १ लाख १५ हजार ४ सय रुपैयाँ प्रतितोलाले कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले निर्धारण हुने सुनको मूल्य नेपालमा पनि सोहीअनुसार समायोजन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै जाँदा नेपाली बजार पनि प्रभावित भएको हो ।
आइतबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।