काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे ।
कार्यक्रममा श्रममन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
एक्स्पोलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिका बीच अर्थतत्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए ।
‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन, एक्सोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने ।
कृषि, हस्तकलालगायत स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रवर्धन एवं साना व्यवसायीको आर्थिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको उनले बताए । चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएको छ । घरजग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री पनि प्रदर्शनीमा रहेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल छन् ।
सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तानलगायत देशका व्यापारीले सहभागिता जनाएका छन् ।