काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेर १ लाख ७३ हजार ४ सय रूपैयाँमा झरेको छ ।
सुनको मूल्य सोमबार मात्रै ७ सय रूपैयाँले घटेको थियो । सोमबार सुनको मूल्य १ लाख ७३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३००६.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।