काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार हजार बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारणभन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए ।
‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।