काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । ललितपुरको द प्लाजामा शुक्रबार आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा भएको हो ।
लिग नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ ।
साथै, यसले नेपालका उदीयमान खेलाडीलाई प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल र नेपाली उपभोक्तालाई एक-आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ ।
सन् २०२१ मा स्थापना भएको लिगलाई अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गरिँदै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवर्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ ।
नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २०२५ मार्च २९ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमबीच कडा प्रतिस्पर्धा हुनेछ । देशभरका फुटबलप्रेमीका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ, जहाँ विभिन्न टिम उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भने, ‘हामी एनसेललाई लिगको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ । यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनेछ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ ।’
त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘नेपाल सुपर लिगसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं ।’
लिगलाई समर्थन गरेर नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहने उनले बताए । ‘यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ,’ उनले भने ।
एनसेलले अघिल्लो वर्षदेखि नै लिगसँग निकट सहकार्य गर्दै आएको छ । यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ । यस लिगमार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ ।
यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभा र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइने छ । एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्धनमा केन्द्रित छ । खेलमात्र होइन, यो नेपालसँगको सम्बन्धको पनि कुरा हो ।
यो लगानी नेपाली खेल प्रतिभाको प्रवर्धनमात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानलाई पनि लक्षित छ, जसको कारण यस्ता प्रतियोगिता सफल हुने गर्छन् । जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रही एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीको सीप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।