• Menu

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

राष्ट्र बैंकले भन्यो- सेवा क्षेत्रको सुधारले आर्थिक चलायमान बढ्यो, व्यावसायिक मनोबलमा सुधार

नेपाल प्रफिट

२०८० माघ २९, २०:०५

राष्ट्र बैंकले भन्यो- सेवा क्षेत्रको सुधारले आर्थिक चलायमान बढ्यो, व्यावसायिक मनोबलमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा क्षेत्रमा आएको सुधारले आर्थिक चलायमान बढ्न सहयोग पुगेको बताएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सार्वजनिक गर्दै राष्टुर बैंकले व्यावसायिक मनोबलमा पनि क्रमिक सुधार देखिएको जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.२ प्रतिशतले विस्तार भएको अनुमान छ । पहिलो त्रैमासमा खानी तथा उत्खनन, निर्माण, पर्यटन र वित्तीय सेवा उपक्षेत्रको वृद्धिदर उच्च छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा खानी तथा उत्खनन र निर्माण उपक्षेत्र क्रमशः १.९ प्रतिशत र ९.६ प्रतिशतले खुम्चिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः १५.८ प्रतिशत र ११.४ प्रतिशतले विस्तार भएको अनुमान छ ।

ढिला सुरु भए पनि मनसुन अनुकूल रहेको र रासायनिक मल समयमा नै उपलब्ध भएकाले वर्षे तथा हिउँदे बालीको उत्पादन सन्तोषजनक रहने देखिन्छ । सेवा क्षेत्रको गतिविधि पनि सन्तोषजनक नै छ ।

कोभिड महामारीपश्चात् चालु आर्थिक वर्षमा पर्यटक आगमन संख्या उल्लेख्य बढेको छ । सन् २०२३ मा करिब १० लाख १५ हजार पर्यटकको आगमन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतले बढी हो ।

२०२३ जनवरीमा करिब ५५ हजार पर्यटकको आगमन भएकोमा २०२४ जनवरीमा ७९ हजारभन्दा बढी पर्यटकको आगमन भएको छ । चालु आर्थिक वर्ष पनि पर्यटन आगमन सन्तोषजनक रहने देखिन्छ ।

पर्यटक आगमनसँगै बाह्य पर्यटनबाट हुने भ्रमण आयसमेत उल्लेख्य बढेको छ । यसबाट रोजगारी, आय आर्जन एवं आर्थिक गतिविधि चलायनमान बनाउन सहयोग पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षभित्र रसुवागढी, मध्य भोटेकोशी, सान्जेन, सानिमा मिडल तमोर, अपर त्रिशूलीलगायतका विभिन्न निर्माणाधीन जलविद्युत परियोजनाको निर्माण सम्पन्न भई ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने क्रममा छ ।

यसबाट मुलुकको उत्पादन सम्भाव्य क्षमता विस्तार भई थप विद्युत निर्यात गर्न, उद्योगको क्षमता उपयोगमा सुधार ल्याउन र उद्योग क्षेत्रको गतिविधि चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्ष पनि विप्रेषण आप्रवाह उल्लेख्य रहेको छ । विप्रेषण आप्रवाहको बढोत्तरीले बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर बचत कायम गर्न, तरलतामा सुधार ल्याउन, ब्याजदरमाथि परेको चाप कम गर्न र आन्तरिक माग बढाउन सहयोग पुगिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र प्रवृत्तिलाई दृष्टिगत गर्दा आगामी महिनाहरुमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहने देखिन्छ ।

मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको छ । थोक मूल्य र तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर पनि न्यून छ । नेपालले दुई–तिहाईभन्दा बढी आयात गर्ने मुलुक भारतमा पनि मुद्रास्फीति घट्दै गएको छ ।

तथापि, रुस–युक्रेन र पश्चिम एसियाली केही मुलुकहरुमा जारी द्वन्द्व र केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यगरी इन्धन र खाद्य वस्तुको मूल्यमा उत्तारचढाव आउन सक्ने जोखिम छ ।

बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आउनुको साथै मौद्रिक विस्तार भएको छ । निक्षेप तथा कर्जाका ब्याजदरहरु घट्दो क्रममा छन् ।

शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट व्यावसायिक मनोबलमा क्रमिक सुधार आउँदै गएको छ ।

बाह्य तथा वित्तीय क्षेत्रको परिदृश्य, नीतिगत कार्यदिशा, पुँजीगत खर्चमा क्रमशः आउने तीव्रता र बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्ययोजनाहरुको कार्यान्वयनबाट कर्जा मागका साथै आर्थिक गतिविधिमा पनि क्रमिक सुधार आउने अपेक्षा छ ।

आर्थिक गतिविधिमा आउने सुधारबाट राजस्व परिचालन र बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा लगानी क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैंकिङ प्रणालीमा कर्जा असुली कम भई निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ ।

ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असुलीमा समेत सुधार आउँदै जाने अनुमान राष्ट्र बैंकले गरेको छ ।