• Menu

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ब्याजदर करिडोरअन्तर्गतका दरहरु यथावत, के छ नयाँ ?

नेपाल प्रफिट

२०८० माघ २९, १९:४५

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ब्याजदर करिडोरअन्तर्गतका दरहरु यथावत, के छ नयाँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ । ब्याजदर करिडोरअन्तर्गतका दरहरुलाई यथावत् राख्दै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सार्वजनिक गरेको हो ।

समीक्षामा आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरहरुलाई यथावत् राखिएको छ ।

त्यस्तै अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि यथावत् राखिएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने पनि मौद्रिक समीक्षामा उल्लेख छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

आन्तरिक आर्थिक गतिविधि एवं मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने अर्धवार्षिक समीक्षामा उल्लेख छ ।