• Menu

प्रक्रियामा रहेका कम्पनीको आईपीओ जारी गर्न खुला गर्नुपर्छ : अध्यक्ष ढकाल

'लगानी सम्मेलनअघि नै कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाऊँ'

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १५:०७

प्रक्रियामा रहेका कम्पनीको आईपीओ जारी गर्न खुला गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानुन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बुधबार अध्यक्ष ढकालले लगानी सम्मेलनअघि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ, कानुन संशोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताए ।

‘लगानी सम्मेलनका लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानुन संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ,’ उनले भने, ‘लगानी सम्मेलनअघि नै यी कानुन संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।’

उनले अर्थतन्त्रका धेरै सूचक सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फिडेन्स आउने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताए ।

‘निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,’ अध्यक्ष ढकालले भने ।

प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्कासन गर्न अनुमति दिन उनले आग्रह गरे ।

‘आईपीओमा जाने प्रक्रियामा रहेका कम्पनीको आईपीओ रोकिएको छ । यो प्रक्रियामा रहेका कम्पनीको आईपीओ जारी गर्न खुला गर्नुपर्छ । अहिले करिब २५‑३० वटा कम्पनी आईपीओमा लैजानका लागि प्रक्रियाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्छु,’ उनले भने ।