• Menu

नेपाल टेलिकमको सेवाको गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

नेपाल प्रफिट

२०८० माघ २२, १५:३२

नेपाल टेलिकमको सेवाको गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएकी छन् । नेपाल टेलिकमको २०औं वार्षिकोत्सव समारोहमा सोमबार उनले सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएकी हुन् ।

‘हामीले अघि सारेको सेवा प्रवाहमा सुधार र आय वृद्धिका कार्ययोजनाको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो,’ उनले भनिन्, ‘कमी‑कमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

टेलिकमले सञ्‍चालनमा ल्याएको नमस्ते-पे मोबाइल वालेटको व्‍यापारलाई प्राथमिकता दिन पनि उनले निर्देशन दिइन् । ‘सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु लक्षित हुनुपर्छ,’ मन्त्री शर्माले भनिन् ।

समग्र दूरसञ्चारको क्षेत्रमा देखिएका बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको जानकारी उनले गराइन् । ‘लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको सेयर खरिद‑बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको छ,’ उनले भनिन् ।

सरकारले नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएको उनले बताइन् ।

‘अब जतिसक्दो चाँडो डिजिटलाइजेसनमा जानुपर्छ । यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त हो । दूरसञ्चार क्षेत्रको विकासले मात्र डिजिटलाइजेसनमा योगदान दिने भएकाले पनि यसलाई बढी प्राथमिकता दिनुपर्ने अवस्था छ,’ मन्त्री शर्माले भनिन् ।