• Menu

सूर्यविनायक-धुलिखेल सडक निर्माणलाई तीव्रता दिन माग, दैनिक ५ घण्टा बन्द गर्ने प्रस्ताव अस्वीकार

नेपाल प्रफिट

२०८१ माघ १०, ११:३०

सूर्यविनायक-धुलिखेल सडक निर्माणलाई तीव्रता दिन माग, दैनिक ५ घण्टा बन्द गर्ने प्रस्ताव अस्वीकार

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले निर्माणलाई तीव्रता दिन दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव राखेको छ । निर्माण कार्यलाई तीव्रता दिन भक्तपुर र काभ्रेका नगर प्रमुखहरुले माग गरेपछि आयोजनाले दैनिक ५ घण्टा बन्द गरे निर्माणले गति लिने बताएको हो ।

२०७९ पुस २४ देखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको छ ।

नगर प्रमुखहरुले आयोजनाको प्रस्ताव अस्वीकार गरेका छन् । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने उनीहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्ग विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताए ।

‘निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्छ ।’ राजमार्ग वरपरका टहरा बिना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्न पनि आयोजनासँग आग्रह गरेका छन् ।

सूर्यविनायक-धुलिखेल सडक डेढ वर्षमा जम्मा २५ प्रतिशत प्रगति, चालु आवमा ७ प्रतिशतमात्र बजेट निकासा

छलफलका क्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गरे । सूर्यविनायक-धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने उनले बताए । जनतालाई समस्या नपर्ने गरी स्थलगत अवलोकन गरेरमात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने उनको प्रस्ताव छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या पार्न नहुने स्पष्ट पारे । उनले सडक मर्मत र वैकल्पिक बाटोको आवश्यक व्यवस्था निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्ने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्न आयोजनालाई सुझाव दिए । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको हो ।