भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम सुस्त देखिएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको १८ महिना बितिसक्दा २५ प्रतिशत मात्रै प्रगति भएको हो ।
२०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता सकारेको थियो । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक-साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा-धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको छ ।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ ।
आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिए ।
सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको र बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको उनले बताए । उनले स्थायी संरचना हटाउनेबारे छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको तर अहिलेसम्म क्षतिपूर्ति दिनेबारे निर्णय नहुँदा पनि समस्या भइरहेको स्पष्ट पारे ।
‘वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कल्भर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कल्भर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।’ सडक निर्माणका क्रममा ठूलो घुम्ती र तल ठूलो भीर भएकाले साँगामा निकै समस्या परिरहेको उनले बताए ।

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड अर्थात ७ प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम भइरहेको जानकारी दिइन् । उनले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्यांकनको प्रतीक्षामा रहेको बताइन् ।
संरचनाको मूल्यांकनसहितको मुआब्जा दिनेबारे निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाउने उनको भनाइ छ । ‘यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ वटा थिए, त्यो हटाएका छौँ,’ उनले भनिन्, ‘अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्यांकनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ ।’
हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनुअगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ्ने काम पुनर्निर्माण प्राधिकरणबाट भइरहेको जानकारी आएको श्रेष्ठले बताएकी छन् । ‘मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ,’ उनले भनिन् ।
जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाएको छ । अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको उनले बताइन् ।
जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डीपीआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डीपीआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठको भनाइ छ ।
विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या भएको र प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको उनले बताइन् । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटक–पटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उनको आरोप छ । वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने उनले बताइन् ।
बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्ने बताए ।

‘नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्न आवश्यक छ,’ उनले भने ।
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाको अनुमान छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरका तीनवटा पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको छ ।
साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने डीपीआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको छ ।
यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्ने छ । २०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो ।
यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गरियो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेका थिए ।
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।
संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal