• Menu

निजी क्षेत्रका चार संस्थाबाट अध्यादेशको स्वागत, मुलुकमा लगानी र व्यवसायको वातावरण बन्ने विश्वास

नेपाल प्रफिट

२०८१ माघ २, बुधबार १३:२०

निजी क्षेत्रका चार संस्थाबाट अध्यादेशको स्वागत, मुलुकमा लगानी र व्यवसायको वातावरण बन्ने विश्वास

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघसंस्थाले हालै जारी भएको अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य रहेको बताए ।

निजी क्षेत्रका प्रतिनिधिले कोभिड-१९ पछि संकुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनमा यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे । उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार हुने र लगानीमैत्री वातावरण सिर्जना यही ढंगले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने धारणा राखे ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएका छन् भने भूमि व्यवस्थासम्बन्धी अध्यादेश जारी हुने क्रममा छ ।

भेटमा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदाशयतालाई सकारात्मक रुपमा लिइदिएको भन्दै खुसी व्यक्त गरे । उनले ‘सरकार ढल्दैछ’ भन्ने हल्ला चलाइए पनि सत्ता गठबन्धनमा रहेका दल आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले लागिरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले ‘देश बनाऔँ’ भन्ने भावना सबैमा रहेको हुँदा व्यक्तिगत स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए । सुशासन र विकाससँग सम्बन्धित व्यावहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने उनको धारणा छ ।