• Menu

क्यान इन्फोटेकको २९औं संस्करण माघ २५ देखि, यस्ता छन् आकर्षण

नेपाल प्रफिट

२०८० माघ १८, २०:१२

क्यान इन्फोटेकको २९औं संस्करण माघ २५ देखि, यस्ता छन् आकर्षण

काठमाडौं । आउँदो माघ २५ देखि २९ सम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ ।

२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा रहेको छ  ।

त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पीएनवइ रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिस मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन् ।

प्रदर्शनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो, डब्लूआईटीएसए र टीओए सफ्टवेयर कर्पको सहयोग रहेको छ ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

त्यस्तै महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे ।

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन् २०२३ मा इन्फोटेकको २८औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो ।

यसपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिनेछ । यस अन्तर्गत सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्षमुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ ।

त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ । यसपटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिनेछ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधिसम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।

क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लन्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ  । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्धन गरिएको छ ।

नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइनेछ । यसअन्तर्गत  इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

क्यान इन्फोटेकमा २ दशकभन्दा बढी समयदेखि नेपालमा प्रविधि अनुासन्धान गरिरहेका चर्चित नेपाली अनुसन्धानकर्ताहरु रामलक्ष्मण संलग्न रहेको कम्पनीले विकास गरेको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीको पनि उद्धाटन हुनेछ ।

यस प्रणालीले नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमा नै तयार गर्न सकिनेछ । त्यस्तै मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत infotech.can.org.np मा रेजिस्ट्रेसन गरी भर्चुअल अवलोकन गर्न सकिनेछ ।

क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।

राजधानीमा माघ २५ देखि ५ दिनसम्म देशकै ठूलो सूचना प्रविधि समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ ।