• Menu

प्रडक्ट आईसीटी अवार्ड २०२४ बाट वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस सम्मानित

नेपाल प्रफिट

२०८१ पुस ८, १२:०६

प्रडक्ट आईसीटी अवार्ड २०२४ बाट वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस सम्मानित

काठमाडौं । प्राविधिक उन्नयनको क्षेत्रमा भर्खरैमात्र पाइला राखेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस एकै वर्षमा दोस्रो पटक सम्मानित भएको छ । यसै वर्ष नेपाल सरकारबाट नेसनल आईसीटी अवार्ड पाएको वानप्वाइन्ट हालै प्रडक्ट आइसिटी अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम- एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्टलाई शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको छ । यससँगै वानप्वाइन्ट सन् २०२४ का दुवै ठूला आईसीटी अवार्ड पाउन सफल भएको छ ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले एक वर्षको बीचमा विकास गरेको आईटी प्रडक्टलाई सम्मानित गर्ने गरिएको छ । एपीआई म्यानेजमेन्ट सिस्टम बैंक वित्तीय संस्था तथा अन्य पब्लिक सर्भिस प्रदान गर्ने उद्योगका लागि तयार गरिएको एकीकृत प्लेटफर्म हो ।

वानप्वाइन्टले विकास गरेको यो युनिफाइड प्लेटफर्मले एपीआई सिर्जना गर्ने, म्यानेज गर्ने र एकीकृत गर्ने काम गर्छ । जसमार्फत एउटै प्लेटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवालाई व्यवस्थापन र अनुगमन गर्न सकिन्छ ।

छोटो अवधिमा नै नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले वान प्वाइन्टले विकास गरेका विभिन्न डिजिटल भुक्तानी प्रणाली र च्यानलहरू प्रयोगमा ल्याइसकेका छन् । त्यस्तै विश्वका ६ देशमा कम्पनीले सेवा विस्तार गरेको वानप्वाइन्टका चिफ अपरेटिङ अफिसर सरोज शाहीले जानकारी दिए ।