• Menu

उपनिर्वाचन २०८१

तीन स्थानको नतिजा आउन बाँकी, कीर्तिपुरमा कांग्रेस, गौरीशंकर र सर्केगाडमा माओवादी अगाडि

नेपाल प्रफिट

२०८१ मंसिर १७, १७:३४

तीन स्थानको नतिजा आउन बाँकी, कीर्तिपुरमा कांग्रेस, गौरीशंकर र सर्केगाडमा माओवादी अगाडि

काठमाडौं । उपनिर्वाचन भएका ४१ स्थानमध्ये तीन स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी स्थानमध्ये काठमाडौंको कीर्तिपुरमा नेपाली कांग्रेस तथा दोलखाको गौरीशंकर र हुम्लाको सर्केगाडमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

कीर्तिपुरमा कीर्तिपुर नगरपालिकामा कांग्रेसका कृष्णमान डंगोल ३ हजार ३८५ मतसहित अग्रस्थानमा छन् ।

दोस्रोमा नेकपा (एमाले) का उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार डा. शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी उम्मेदवारले अग्रता कायम राखेका छन् । माओवादीकी निम लेकी शेर्पाले १ हजार ३८० मत ल्याउँदा एमाले उम्मेदवार उमा लुंगेली मगर शेर्पाले १ हजार १३ मत ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार पासदिकी तामाङले ७९६ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले अग्रता लिएकी छन् । प्रारम्भिक गणनामा अघि देखिएकी एमाले उम्मेदवार जाना शाहीलाई तिमल्सिनाले पछि पारेकी हुन् ।

शाहीलाई कांग्रेस उम्मेदवार सविता बुढाले समेत पछि पारेकी छन् । साँझ ५ बजेसम्मको मतपरिणामअनुसार तिमल्सिनाले ७०६ मत ल्याउँदा एमाले उम्मेदवार शाहीले ४७१ मत पाएकी छन् भने कांग्रेसकी बुढाले ४९३ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।