अमेरिका । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद–बिक्री सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
अमेरिकाको वासिङ्टनमा यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्पm लगानीकर्ताको ध्यानाकर्षण गराए ।
यसैगरी भारतसँग भएको १० हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि उनले अमेरिकी लगानीकर्तालाई दिए ।
नेपालको प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकलाई आकर्षित गर्ने भएकाले पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे । संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्तालाई देखाए ।
लगानी सहजीकरणका लागि महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआइ हेल्प डेस्कमार्फत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको र लगानीको जोखिम न्यून हुँदै गएको पनि उनले बताए । साथै, सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा बहुराष्ट्रिय कम्पनीहरु गुगल, मेटा, कोकाकोलालगायत कम्पनीका प्रतिनिधि पनि सहभागी थिए । अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने क्रममा वासिङ्गटनमा छन् । यसअघि उनले अन्तर्राष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरुसँग पनि भेटघाट गरेका छन् ।