• Menu

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना ३ वर्षदेखि अलपत्र

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार ११:३७

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना ३ वर्षदेखि अलपत्र

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन ।

मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको संरचना पछिल्लो विपद्का बेला पनि उपयोगविहीन बनेको छ । खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न म्याग्दी नदीको पानी तानेर वितरण गर्ने योजनासहित उक्त संरचना निर्माण गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका-२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी संकलनस्थलसम्म पानी पुर्‍याउने संरचना बनाएको हो ।

२०८० सालमा निर्माण सम्पन्न भएको उक्त संरचना प्राविधिक समस्या देखिएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन । संस्थालाई हस्तान्तरणसमेत नभएको संरचना पछिल्लो विपद्का बेला पनि प्रयोग गर्न नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।

उनका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा आपूर्ति प्रभावित भएको थियो । तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा त्यसबाट पानी आपूर्ति गर्न सकिएन ।

विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र सरकारी लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन् । उनीहरूले प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

काठमाडौंको एएम प्याराडाइजले २०७८ सालअसोजमा वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका-२ को हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ । इनारबाट करिब नौ सय मिटर लामो चार इञ्चको जीआई पाइप बिछ्याएर एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्यांकीसम्म पानी पुर्‍याउने व्यवस्था गरिएको छ ।

तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ । म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ ट्यांकीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ ।

यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका-८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि वितरण सुरु गरेको छ । हाल ती मुहानबाट प्रतिसेकेन्ड ८ लिटर पानी आपूर्ति भइरहेको छ ।

विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा आपूर्ति हुने गरेको थियो । विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो ।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक आवश्यकताका लागि प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ । संस्थाले बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको छ ।

मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरेर आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ । रासस