• Menu

पहिलो चौमासिकमा २३.३७ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ७.५३ प्रतिशतमै सीमित

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार ११:१६

पहिलो चौमासिकमा २३.३७ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ७.५३ प्रतिशतमै सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३.३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३.३७ प्रतिशत हुन आउँछ ।

चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७.२९ प्रतिशतअर्थात् ३ खर्ब ४६ अर्ब ७५ करोड २४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको ७.५३ प्रतिशतअर्थात् ३२ अर्ब ४४ करोड ८६ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७.७६ प्रतिशतअर्थात् एक खर्ब १७ अर्ब ३२ करोड खर्च भएको छ ।

सरकारले यस वर्ष १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३.३९ प्रतिशतअर्थात् तीन खर्ब ८४ अर्ब सात करोड बराबर प्राप्ति गरेको छ । कूल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३.५८ प्रतिशतअर्थात् ३ खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठेको छ ।

वैदेशिक अनुदानतर्फ यस वर्ष ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४.५ प्रतिशतअर्थात् ८अर्ब ६७ करोड ३५ लाख बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिएको छ । रासस