काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।
विराटनगरलाई जितका लागि अन्तिम ३ ओभरमा २१ रन आवश्यक थियो। तर, चितवनका बलर कमलसिंह ऐरी र रिजन ढकालले लगातार विकेट लिएपछि विराटनगरको जित्ने सम्भावना कमजोर बन्यो।
कमलले १८औँ ओभरमा लगातार दुई विकेट लिँदै खेलको दिशा परिवर्तन गरे। उनले रुपेश सिंह र प्रतिश जिसीलाई खाता खोल्न नदिई पभेलियन फर्काए। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगर दबाबमा परेको थियो।
चितवनका लागि कमलले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। रिजन ढकालले दुई विकेट हात पारे भने रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा विराटनगरका आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। उनले १७ बलमा ४ छक्का र एक चौकासहित ३३ रन बनाए।
रसेलले एन्जेलो म्याथ्युजसँग मिलेर २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए। चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए।
विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। लोकेशले १४ बलमा २६ रन जोडे।
त्यसपछि शुभम रञ्जाने १० रन बनाए भने कप्तान सन्दीप लामिछाने खाता नखोली आउट भए। मध्यक्रमका ब्याटरले अपेक्षित योगदान दिन नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न असफल भयो।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
चितवनका ओपनर डाविड मलानले ५१ बलमा ७० रनको उत्कृष्ट इनिङ्स खेले। उनले ५ छक्का र ५ चौका प्रहार गर्दै प्रतियोगिताकै पहिलो अर्धशतक बनाएका थिए।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरे। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले पहिलो विकेट लिएका थिए।
विकेटकिपर अर्जुन साउदले ९ बलमा ३ रन मात्रै बनाउन सके। उनी ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजको बलमा सन्दीप लामिछानेबाट क्याचआउट भए।
१३औँ ओभरमा मलानलाई आन्द्रे रसेलले आउट गरेपछि कप्तान रवि बोपारा र डान मोस्लीले इनिङ्स सम्हाले। दुवैले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। बोपारा ३२ र मोस्ली २९ रनमा नटआउट रहे।
चितवनले बनाएको १५७ रनको योगफललाई बलरहरूले जोगाएपछि टोलीले प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको हो।
यसैबीच, आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।